नेविसंघ कार्यसमितिको म्याद आजबाट सकियो


काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को कार्यसमितिको म्याद सकिएको छ ।

कांग्रेसले दोस्रो पटक दुई महिनाका लागि थपेको कार्यसमितिको म्याद सकिएको हो ।
विधानमा एक पटक मात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था रहेको छ । तर महाधिवेशन हुन नसकेपछि विधान विपरित राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो ।
थपिएको समयसीमा भित्र पनि महाधिवेशन हुन सकेन । तोकिएको समयभित्र १२ औं महाधिवेशन नहुने निश्चित भएपछि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले यसअघि नै राजीनामा दिइसकेका छन् ।

संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुई वटा विकल्पमध्ये अधिकांश नेताहरु समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएको भन्दै तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।

अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?