ओम आयल मिलमा रहेको ८ हजार लिटर तेलमा शिलबन्दी


काठमाडौं । ललितपुरको सुनाकोठीमा रहेको ओम आयल मिलमा रहेको ८ हजार २ सय ५० लिटर तेलमा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिलमा रहेको त्रिवेणी ब्राण्डका १ र आधा लिटरका गरी २ हजार ९ सय ५० लिटर र किसान ब्राण्डको ५ हजार ३ सय लिटर तोरीको तेल शिलबन्दी गरिएको हो ।

उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी बिट चापागाउँको संयुक्त टोलीले आइतबार छापा मारेको हो ।

अनुगमनका क्रममा तोरीको तेल र प्याकिङ गर्ने मेशिन भेटिएको तर तोरी पेल्ने मिल नपाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

भाँडोमा पकाउँदै गरेको २० लिटर अखाद्य रङ तथा आयल ग्रीन नामको धुलो रङ समेत बरामद गरिएको छ । विभागले थप अनुसन्धानका लागि तेलका नमूना तथा रंगका नमूना संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?