मन्त्री अधिकारीले भने,‘२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ ’


विर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले बुधबार झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुने बताए ।

अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने बताए ।

यसै वर्षदेखि मुलुकका नौ वटा विमानस्थलमा रात्रि उडान गर्ने समेत उनले जानकारी गराए ।
बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने बताउँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी प्रक्रियामार्फत अघि बढाउने र कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?