योजना तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित बुधबारको बैठकमा मुख्यमन्त्री शाहीले सबै सचिवलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

बैठकमा शाहीले कछुवा गतिमा बढेका योजनाले प्रदेश सरकारको मर्मअनुरुप काम हुन नसक्ने बताए ।

मुख्यमन्त्री शाहीले सचिवहरुलाई सम्बेदनशील भएर काममा खट्न सकेन आग्रह गरे ।
उनले बजेट कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती भएको भन्दै परिणाम निकाल्ने गरी काममा तीव्रता दिन आग्रह गरे ।

उनले सबै मन्त्रीलाई प्रतिफल देखिने गरी बजेट कार्यान्वयनमा जोड दिन र कर्मचारीको सक्रिय परिचालनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

बैठकमा विभागीय ६ मन्त्रालयका सचिवले आ–आफ्ना मन्त्रालयअन्तर्गत भएका कामको प्रगति, योजना कार्यान्वयन अवस्था, समस्या, चुनौती र समाधानका विषयमा मुख्यमन्त्री शाहीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?