डा.केसीका माग पूरा नभए सबै सेवा ठप्प पार्ने चेतावनी


काठमाडौं । आवासीय चिकित्सक संघले बिहीबार साँझसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औं दिन भइसकेकाले उनलाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै संघले माग पूरा गर्न आग्रह गरेको हो ।

संघले बिहीबार बेलुकीसम्म अनसन तोडाउन कुनै पहल नभए शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष डाक्टर सुमित पाण्डेले डाक्टर केसीको समर्थनमा बिहीबार कालोपट्टी बाँधेर काम गरिरहेको बताए ।

चिकित्सा शिक्षा विधेयक परिमार्जन र आफूसँग सरकारले गएका दिनमा गरेको सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेपनि सरकारले भने संसदमा पेश भएको विधेयक पारित गर्ने तयारी गरेको छ ।

सोमबार र मंगलबारको बैठकमा कांग्रेसको अवरोधका कारण पारित हुन नसकेको विधेयक, प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित गर्ने सरकारको तयारी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?