मात्तिएको सत्तापक्ष र आत्तिएको प्रतिपक्षी


-तिलकप्रसाद तिवारी –

देशमा कुनै कुराको पनि तिव्रतर विकास भएको छ भने गफको भएको छ । गफाडी जमात बढेर गएको छ । नजान्नी कोहि छैन् । सवका सव विज्ञजस्ता लाग्छन् । केहि कुरो बोल्यो, प्रतिक्रिया आइहाल्छ ।

प्रतिक्रियावादी राजनीति यसरी विकास भएर गएको छ कि लाग्छ देशका राजनीतिकर्मी प्रतिक्रया नै  पकाएर खान्छन्, प्रतिक्रिया नै लगाउंछन् र प्रतिक्रियाकै विस्तारा लगाएर सुत्छन् । दिनमा दर्जनौ प्रतिक्रिया दिन नपाए न निद्रा न भोकको अवस्थामा उनीहरु छन् । आफ्नो वाणीलाई देवबाणी ठान्ने आत्मरतीले सवै फुलिएका छन् ।

मुलुक चलेकै छ । तर जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन । तदर्थवादी रुपमा देश चलेकै छ । नेपालका लागि राजनीति आर्दशबाट च्यूत भएर व्यवसायमा रुपान्तरित भएको कालखण्ड हो यो । जनताको सेवा र देशको समृद्विका लागि कसैले पनि राजनीति गर्छु, गरिरहेको छु या गर्नेछु भनेर दाबी गर्छ भने त्यसलाई केबल गजेडी गफका रुपमा परिभाषित गर्ने परिस्थिति सिर्जना भएको छ ।

राजनीति समाज रुपान्तरणको माध्यम रहेन अव । कमाई खाने पसल भएको छ । अपराधीका लागि चोखिने थलो भएको छ ।

राजनीतिको यो रुपले चरम वितृष्णा बाहेक केहि दिएको छैन । यावत समस्या र चुनौतीबाट पाठ सिक्दै समाज रुपान्तरणका निम्ति योग्दान गर्नु नै राजनैतिक नेताको दुरदृष्टि हो । २००७ सालको जनक्रान्ति पश्चात नेपाली समाज नयाँ नयाँ परिस्थितिलाई झेल्दै व्यापक रुपान्तरणको दिशामा नै छ ।

युवा पुस्तालाई राजनीतिमा कागतीको रस निचोर्दा झैं निचोरेर आफ्नो अभिष्ट पूरा गर्ने संकीर्ण मनस्थिति नेपालका सवै राजनैतिक दलको नेतृत्व तहमा एउटा संस्कारको रुपमा स्थापित भइसकेको छ । नेपालमा बेग्रल्ती दल छन् ।

मुख्य रुपमा संघर्ष र बलिदानबाट स्थापित दलका रुपमा नेपाली कांग्रेस, एमाले र माओवादी नै हुन् । विडम्बना, यी दलका आशा लाग्दा र भर्भराउँदा भनिएका नेता नै भयानक विचलित भएका छन् ।

तिनका युवा संगठन गुण्डागर्दी, जवरजस्ती चन्दा असुलीमा केन्द्रित छन् । आफ्नो अस्तित्व जोगाउन तमाम युवा यीनै प्रमुख पार्टीसँग नजोडिएर धर नै पाउँदैनन् । समाज र राजनीति यति अभिन्न छ कि सामजिक जीवनमा प्रभाव देखाउन पनि युवा कुनै न कुनै पार्टीको सदस्य बन्नु अनिवार्य जस्तै छ ।

बुढा त बुढा भइहाले, युवाको मानसपटलमा समेत राजनीति समाज सेवाका निम्ति नभएर शक्ति र पैसाको निम्ति गरिन्छ भन्ने अवधारणा विकसित हुनु सुखद पक्ष हुँदै होइन । हरेक पार्टी भित्र युवाहरुको सचेत खवरदारीले नेपाली समाज नयाँ ढङ्गबाट बढ्न सक्छ । युवाको बाँच्ने आधारको निर्माण नै विकासको ढोका हो ।

कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र अन्य स्रोतहरुको सम्भावनाको खोजी गर्दै स्रोत उत्खनन् र परिचालनमा युवाको सहभागिता गराउन सके देश आफै विकास हुन्छ । राजनैतिक दलले धेरै पुजारी उत्पादन गराउनु भन्दा उनीहरुलाई विकासमा समर्पित गराउन सके देशको मुहार आफै फेरिन्थ्यो ।

देश कुन मुल्य र मान्यतामा हिडिरहेको छ भन्ने मानक त्यस देशका शासक त्यहाँसम्म पुग्नका लागि कुन विधि अपनाए भन्ने कुराले निर्धारण गर्दोरहेछ । सत्ता प्राप्ति, परिवर्तन, क्रान्ति जे भनौं, त्यहाँसम्म पुग्न या पाउँन अपनाईने आन्दोलनको विधिले उनीहरुको चरित्र प्रष्ट पार्दछ ।

अरु देशमा के भए, हाम्रा लागि त्यो मागर्दशन अनि उदाहरण दिनका लागि मात्र काम लाग्ने भएको छ । हाम्रो देशका अधिक नेताहरुको राजनैतिक जग हिंसात्मक एवं रक्तपातपूर्ण इतिहासवाटै निर्मित छ । तसर्थपनि गान्धीवादी आन्दोलनका स्वरुपलाई कम आंकलन गर्ने गरिएको छ ।

शालिन र शान्तिपूर्ण आन्दोलनको विधि अनसनको तागतले नेपालका शासक चाहे ती कांग्रेस होउन या कम्युनिष्ट उनीहरुलाई कत्ति प्रभावित गरको छैन । अलिकति पनि संवेदना एवं शान्तिपूर्ण आन्दोलनको विधि अनसनप्रति सम्मान एवं निष्ठा भएको भए एउटा चिकित्सकको अनसन धारावाहीक टेलिश्रृंखला जस्तो १६ औं चरणमा पुग्दैन्थ्यो । नागरिक समाज भन्छ, ‘डा केसी सही हुन् ।

उनको मार्ग शतप्रतिशत सही छन् । उनका माग सम्बोधनको विकल्प छैन ।’ सत्ता पक्ष र त्यसका वरिपरि रहने भन्छन्, ‘केसी परिचालित हुन ।’ केसी सत्यका पहरेदार हुन या परिचालित पात्र हुन, त्यो समयक्रममा स्पष्ट होला । अहिलेलाई यत्ति भन्न सकिन्छ, डा. गोविन्द केसी साधारण मानिस हुँदै होइनन् । अहिलेका सत्तापक्षले आरोप लगाएझै उनी परिचालित भएको पुष्टि समयक्रममा भयो भने इतिहासकै नालायक पात्र ठहरिनेछन्, उनका प्रतिपक्षीले आरोप लगाएझै परिचालित होइन रहेनछन् भने उनी नेपालका गान्धी नै ठहरिनेछन् ।

अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. केसीका माग पुरा गर्नुपर्छ भनिरहेको छ । आफ्नो नेतृत्वको सरकार हुँदा उसले के हेरेर बस्यो, त्यसको उत्तर दिन कांग्रेसले आवश्यक ठानिरहेको छैन । केसीकै भ¥याङ चढेर वर्तमान सरकारमाथि धावा बोल्न सकिन्छ कि भन्ने दाउमा कांग्रेस छ ।

सत्ता पक्षधर नेता केसीलाई अनेकन कपोलकल्पित आरोप लगाईरहेका छन् । अनसनरत केसी. पनि चिकित्सा क्षेत्रका मुद्दावाट विषयान्तर हुँदै बर्बराएर विचलित बनिरहेका छन् । जे हुँदा पनि देशको केन्द्रिय सरोकार र चासोको विषय आज डा. केसीको अनसन र उनको स्वास्थ्य अवस्था भएको छ । जतिवेला सत्तामा वस्नेसँग राजनैतिक नैतिकता सकिन्छ, त्यतिवेला एउटा नागरिकको मृत्युले उसलाई छुँदैन ।

शासकमा संवेदना सकिएको देशमा हुने यस्तै हो । अलिकति पनि संवेदना सरकारमा वस्नेसँग बाँकी छ भने केसीसँग भएका सम्झौता कार्यान्वनको प्रतिवद्वता गरोस् । अनसन वस्दै गर्दा केसीको जीवन तलमाथि भयो भने वर्तमान सरकारमाथि इतिहासमा कहिल्यै नमेटिने कलंक लाग्नेछ ।

केसी आजका दिनसम्म एउटा व्यक्ति नभएर एउटा प्रवृति एवं आन्दोलनका मानक बनेका छन् । केसी बाँच्नुपर्छ । एउटा चिकित्सक केसीसँग सिंगो सरकारले इगो साँधिरहेको छ । एकातिर सिंगो सत्ता अर्कातिर एउटा चिकित्सक तर शक्ति सन्तुलनको परिस्थिति छ । प्रतिपक्षी विशेषत प्रमुख प्रतिपक्षी नेपाली कांग्र्रेसलाई पुरा पाँच वर्ष अनि अबको सिंगो ४ वर्ष सत्ता बाहिरै वस्नुपर्ने परिस्थिति भयानक कहालीलाग्दो लागिरहेको छ ।

सत्ताको एडिक्सन कांग्रेसमा यसरी लागिरहेको छ कि मुलुकका मुल मुद्वा एकातिर हुँदाहुँदै अस्पतालमा अल्झिएको छ । कसरी दुई तिहाईको सरकारलाई विघटन गराउन सकिन्छ भन्ने ध्याउन्न उसको छ ।

१३ वर्षिया बालिका बलात्कृत भइन, हत्या गरियो, कांग्रेसले सदन अवरुद्व गरेन, ३३ किलो सुन काण्ड बिलायो, कांग्रेस जागेन, वाइडबडी जहाज खरीद प्रकरणबारे कांग्रेसले सामाजिक संजालमा प्रतिक्रिया दिएर चित्त बुझायो । सत्ता पक्ष अव ४ वर्ष कसैको केहि तागत लाग्दैन भन्ने दम्भ पालेर बसेको छ । काम गर्न नसक्ने दुई तिहाईलाई त  के दश तिहाईलाई पनि  जनताले चाहे भने चार वर्ष होइन, चार दिनमा तह लगाईदिन्छन भन्ने सत्य सत्ताले विर्सेको छ । मात्तिएको सत्ता र आत्तिएको प्रतिपक्षीको साक्षी हामी भइदिनुपरेको छ ।
मध्यान्ह राष्ट्रिय दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?