पार्टी एकतालाई टुंगोमा पुर्‍याउन विलम्ब गर्नु हुँदैन : वरिष्ठ नेता नेपाल


दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको एकीकरण प्रक्रिया टुंगोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा नेता नेपालले सो कुरा बताएका हुन् ।
उनले एकतालाई टुंगोमा पुर्‍याउन विलम्ब गर्न नहुनेमो जोड दिए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।’
पार्टी संगठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने उनको भनाइ छ ।

पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सबैलाई न्याय हुनेगरी पार्टी एकीकरणको प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने बताए ।

सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?