कांग्रेसद्वारा आजपनि संसद अवरोध


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गरेको छ । बिहीबारको बैठकको शुरुमै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।

सभामुखले समय दिएपछि सांसद रिजालले कांग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने बताए ।

उनले लोकतन्त्रलाई नदेख्नेहरुले देख्नैपर्ने बताए । रिजालले सभामुख सभाको अनुहार भएको भन्दै त्यस्तो अनुहार नदेखिए लोकतन्त्रमाथि आस्था कमजोर हुने बताए ।

उनले भने, ‘अस्थाको धरोहर हो संसद । संसदको मुख्य सभामुख हुनुहुन्छ । सभामुख ज्यू उच्च आसनमा हुनुहन्छ । उच्च आसन उचाइको अहमका लागि होइन् । उच्च आसनमा बसेर टाढा–टाढासम्म देख्न सकियोस् ।’

उनले बोलिसकेलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

तर, सभामुख कृष्ण बहादुर महराले कांग्रेस नेताका नामका अस्पतालबारे सरकारले माग बमोजिम निर्णय गरिसकेको भन्दै बस्न आग्रह गरेका थिए ।

त्यस्तै उनले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताएका थिए ।

सभामुखले पटकपटक कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महरालो अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगित गरेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?