राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्छ : दाहाल


चितवन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका महिला विभागले बिहीबार चितवनको पटिहानीमा आयोजना गरेको ‘पत्रकार महिलाको राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना बताउँदै योग्यता विकास गर्न सुझाव दिए ।
इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै हाम्रो अगाडि अवसर धेरै रहेको र धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गनुपर्नेमा अध्यक्ष दाहालको जोड थियो ।

राष्ट्रको एकतालाई अझ मजबुत बनाउनुपर्ने भन्दै एकतालाई मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने समय आएको दाहालले बताए ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पत्रकार महिलाहरुले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिस्पर्धी ढंगले काम गर्न पत्रकार महिलालाई मन्त्री थापाले आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन सहयोगी बन्ने बताए ।

कार्यक्रमका अवसरमा तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो रहेको भन्दै महिलालाई अघि बढाउन सबैले साथ र सहयोगको आवश्यकता रहेको बताए ।

नेपाल पत्रकार महासंघ महिला विभागका प्रमुख लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेत, भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य राखेका थिए ।

भेलामा पत्रकार महिलाका वर्तमान अवस्था, समस्या र समाधान विषयमा व्यापक छलफल गरी निष्कर्ष निकालिनेछ ।
साँझ पटिहानी घोषणापत्र जारी गर्दै भेला सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?