सशस्त्रका एसएसपीसहित तीन प्रहरी भ्रष्टाचारी ठहर


काठमाडौं । सशस्त्र प्रहरीका एसएसपीसहित तीन प्रहरीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।  अदालतले सशस्त्र प्रहरी बल नौबस्ता बाँकेमा कार्यरत रहँदा सशस्त्रका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी, हवल्दार नयनवहादुर ओली र ठेकेदार राजु रावलले सामान खरिदमा अनियमितता गरेको ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले सो फैसला सुनाएको हो ।

उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाख रुपैयाँ बराबरको ठेक्काका अनियमितता गरेको भन्दै २०७३ भदौ ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दामा फैसला सुनाउँदै विशेषले दुई प्रहरी अधिकारी र ठेकेदारसँग बिगो, जरिवाना र कैदसँगै थप ४२ लाख ११ हजार २ सय भराउनुपर्ने ठहरसमेत गरेको छ ।

विशेषले मिश्र र केसीलाई बिगोको दामासाही हुनेगरी आधाआधा भराउने फैसला सुनाएको छ । उनीहरुलाई जनही ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ र सो बराबर जरिवाना हुने फैसला विशेषले सुनाएको छ । भ्रष्टाचार निवारण ऐन अनुसार जनही उनीहरुलाई एकएक वर्ष कैद हुने फैसला सुनाइएको छ ।

यस्तै ठेकेदार राजु रावललाई भने १ करोड २६ लाख बिगो र सोही बराबर जरिवना भराउने फैसलासमेत सुनाइएको छ । हवलदार नयनवहादुर ओलीलाई ३१ लाख ५८ हजार बिगो र सोही बराबर जरिवाना तथा ६ महिना कैद हुने फैसला सुनाइएको छ ।
अख्तियारले सामान खरिदमा अनियमितता भएको भन्दै जेजे ट्रेडिङ एन्ड इन्टरप्राइजेजका सञ्चालक रावललाई पनि मुख्य अभियुक्त भन्दै मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०७१/७२ को बजेटबाट मिश्रले गोप्य रुपले कीर्ते खरिद बोर्ड गठन गरी फर्जी बिल भपाई बनाई रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?