मधेसको विकासका लागि सरकारले काम अघि बढाएको छ : प्रधानमन्त्री


सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सिराहामा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताए ।

उनले भने, ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ । हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण,तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा शुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदैछ ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल,कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए ।

यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि गत बैसाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताए । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो ।

प्रधानमन्त्री ओलीले शनिबार नै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलयको शिलान्यास गरेका थिए ।
यसैगरी चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्राबास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?