नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, युएई १४ रनले पराजित


काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको तेस्रो तथा निर्णायक टी–२० सिरिजमा नेपालले युएईलाई १४ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको छ ।

आइतबारको तेस्रो टी –२० मा आयोजक युएइलाई पराजित गर्दै नेपालले शृंखला कब्जा गरेको हो । नेपालले युएईलाई १०५ रनको चुनौति दिएको थियो ।

युएईले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । एक सय ५ रनको लक्ष्य पछ्याउने क्रममा युएईका लागि साइमान अनवरले सर्वाधिक ३० रन बनाए । यस्तै गुलाम शब्बेरले २५ रन र महोम्मद बुटाले ११ रन जोडे । युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको जित सुरक्षित गर्ने क्रममा करण केसी, ललितसिंह राजवंशी र अविनास बोहोराले दुई दुई विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि सन्दीप जोराले २८ रन, बिनोद भण्डारीले २१ रन, करण केसीले १० रन र दीपेन्द्रसिंह ऐरीले २ रन को योगदान गरे ।

युएईका लागि आमिर हायात र महोम्मद नाभिदले समान २ विकेट लिए । यस्तै जहोर खान, महोम्मद बुटा र सुल्तान एहमदले समान १र१ विकेट लिए ।

कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाए । दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको थियो ।

अन्तिम खेलमा जित दर्ता गरेपछि नेपालले शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि नेपालले युएई विरुद्धको एक दिवसीय सिरिज पनि २–१ ले जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?