नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै, भव्य स्वागत गरिने


काठमाडौं । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ ।

नेपाली क्रिकेट टोली आज अपरान्ह ३ : २० मा काठमाडौं आइपुग्ने छ । दुवईमा २ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिजमा नेपालले २–१ ले जितेको हो ।

आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो ।

नेपालले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो । यस पटक एक दिवसीय र टी–२० का शुरुका खेल हारे पनि लगातार दुई–दुई खेल जित्दै सिरीज जित्न सफल भएको हो ।

नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने बताइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिगमा कम्तिमा २ वटा खेल खेलेर नेपाल फर्कने बताइएको छ ।

यसैबीच नेपाली क्रिकेट टिमलाई काठमाडौंमा आज भव्य स्वागत गरिने भएको छ । सरकारलेनै नेपाली क्रिकेट टिमलाई स्वागत गर्ने तयारी गरेको हो । आज अपरान्ह काठमाडौं आइपुग्ने नेपाली क्रिकेट टिमलाई स्वागत गर्न विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्लिसेना, राष्ट्रिय खेलकूद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र सदस्य सचिव केशब कुमार विष्टले एयरपोर्टमै पुगेर भव्य स्वागत गर्ने तयारी गरेका हुन् ।

युवा तथा खेलकूदमन्त्री अहिले पोखरामा रहेको र खेलाडीलाई स्वागत गर्नकालागि काठमाडौं आउन लागेको उनको सचिवालयले जनाएको छ ।

आज नेपाली क्रिकेट टिमलाई एयरपोर्टबाट भव्य स्वागतसहित त्रिपुरेश्वरस्थित राखेप परिसरमा ल्याउने र प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएपछि एक दुई दिनमै औपचारिक समारोह गरेर पुरस्कार तथा सम्मान प्रदान गर्ने राखेप स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?