पक्राउ परेका विद्यार्थी नेतालाई बिनासर्त रिहाइको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइ गर्न माग गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गरेर अध्यक्ष महरसहित पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल विना सर्त रिहाइ गर्न माग गरेका हुन् ।

पोखरामा झुटा मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै निकालिएको ¥यालीमा अध्यक्ष महर, उपाध्यक्ष नवीन राई, विद्यार्थी नेताहरु डम्मर सुनार, शंकर खड्का, सरोज तिमिल्सेना, निराजन नेपाल, सञ्जिव ढकाल, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी पक्राउलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ परेका विद्यार्थी नेताहरुलाई नेपाल पुलिस क्लब र गौशालामा राखिएको नेविसंघले जनाएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने लोकतान्त्रिक अधिकारविरुद्ध ओली सरकारले विद्यार्थी नेताहरु पक्राउ गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?