निर्मला प्रकरणमा सरकार गम्भीर : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले हत्यारा जहाँ रहे पनि नछाडिने बताए ।

नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ ? भन्दै प्रश्नको जवाफ मागेकी थिइन् ।

गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानूनको कठघरामा ल्याएरै छाड्ने बताए ।

निर्मला पन्तको हत्या यस्तै अपवादको रुपमा रहेकाले केही समय लागेको भन्दै उनले त्यसलाई जतिसक्दो छिटो टुंगो लगाउने गरी सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

बैठकमा गएको साउन २० गते काठमाडौंको काडाघारीका ११ वर्षिय बालक निशान खड्काको हत्या प्रकरणमा संलग्नको ‘इन्काउन्टर’ मा ज्यान जानु स्वभाविक घटना रहेको गृहमन्त्री थापाले बताएका थिए । सांसद देवेन्द्रराज कँडेलले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले सो कुरा बताएका हुन् ।

बैठकमा अपराधीहरुलाई पक्रने क्रममा प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उनीहरुको ज्यान गएको गृहमन्त्रीले प्रस्ट पारे ।

प्रहरीले प्रहार गरेको गोली लागेर गोपाल तामाङ र अजय तामाङको ज्यान गएको थियो ।
अर्का सांसद बालकृष्ण खाँडले गृहमन्त्रीले इन्काउन्टर भन्ने शब्द प्रयोग गरेको बताउँदै इन्काउन्टरको आदेश कसले दिएको हो भन्ने प्रश्न गरेका थिए ।

गृहमन्त्री थापाले इन्काउन्टरको आदेश अपराधीले प्रहार गर्दा आत्मरक्षाका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने बताउँदै स्वतः हान्न सक्ने बताए ।

सांसद प्रेम सुवालले शान्ति सुरक्षामा सरकार चुकेको गुनासो गरे ।
गृहमन्त्री थापाले राज्यको जिम्मेवारी सबैको सुरक्षा गर्ने दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?