मेलम्ची र ठेकेदार कम्पनीबीच सिंगापुरमा वार्ता


काठमाडौं । मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता शुरु भएको छ ।
सिएमसी कम्पनीले राखेका केही मागहरूका विषयमा छलफल भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

यसअघि अनौपचारिक रूपमा ठेक्का तोडेको खानेपानी मन्त्रालयले माग २० गतेसम्म छलफलको लागि र काम गर्नेरनगर्ने भन्ने विषयमा पत्राचार गरेको थियो ।

खानेपानी सचिव गजेन्द्र ठाकुरले माग २० गतेसम्म सम्पर्कमा नआएमा ठेक्का तोडिने बताएका थिए । मन्त्रालयले बाँकी कामको लागि कसरी प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल सुरु गरेको हो ।

तर, बोर्डले मेलम्चीको काम छिटोभन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने, नभए विकल्प राखेर पनि छलफल गर्ने योजना छ ।

आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो ।

बिहीबारसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यसअघि औपचारिक र अनौपचारिक रूपले सिएमसीका प्रतिनिधिहरूसँग छलफल भइरहेको थियो ।

दिल्लीस्थित नेपाली र इटालीका राजदूतबीच यस विषयमा छलफलसमेत भएको थियो । यसअघि सिएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?