काठमाडौंका दुई आयल स्टोर्समा शिलबन्दी


काठमाडौं । गुणस्तर तथा नापतौल विभागले काठमाडौकों चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा शिलबन्दी गरेको छ ।

विभागले लगाएको सील तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने र उपभोक्तालाई कम तेल दिएको गुनासोका आधारमा उक्त स्टोर्सलाई विभागले शिलबन्दी गरेको हो ।

यी दुबै पम्पका सञ्चालक आयल स्टोर्स पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने भाडामा लिएर चलाएका हुन् ।

एसोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो ।

पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको पाइएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पहिलोपटक विधि विज्ञान प्रयोगशालामा शिलबन्दी जाँच्न पठाएको बताए ।
प्रयोगशालामा नक्कली शिल रहेको जानकारी पाएपछि हामीले कारबाही थालेको उनको भनाइ छ ।

विभागले पम्पमा हुने ठगी नियन्त्रण गर्न देशव्यापी रुपमा अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?