सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख १ करोड १० लाख धरौटीमा रिहा


काठमाडौं । सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख दीलिपकुमार कार्की १ करोड १० लाख धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतमा सोमबार भएको थुनछेक बहसपछि कार्कीसँग धरौटी माग गरिएको थियो । कार्कीले बंगलादेश बैंकको धरौटी बराबर ग्यारेन्टी बुझाएर रिहा भएको उप–रजिष्ट्रार पुष्प पाण्डेले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले कार्कीसँग धरौटी माग गरेको थियो ।

उनी विरुद्ध आयोजना कमसल बनाएर भ्रष्टाचार गरेको दाबी सहित १ अर्ब ५६ करोड भन्दा बढी मागदाबी सहित २१ मंसिर २०७५ मा मुद्दा दर्ता भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदार विक्रम पाण्डेसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरव आयोजना सिक्टाको मूलनहर भत्किएपछि निर्माण गर्ने पाण्डेको कालिका कन्स्ट्रक्सन आरोपी बनेको थियो ।

आयोगले मूल नहरको डिजाइनमा नै कैफियत भेटिएको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोपसहित सरकारी अधिकारी र निर्माण ब्यवसायीलाई प्रतिवादी बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?