धरौटीमा छुटे आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का


काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा छुटेका छन् ।

खड्काले २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट धरौटीमा छुटेका हुन् ।  उनी नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा छुटेको बताइएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो ।

अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ । खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?