एउटा असल राजनेता बी पी कोइराला


आज बी पी कोइरालाको स्मृति दिबस ।आज भन्दा ३८ बर्ष अगाडि बी पी कोइरालाको अन्तिम शबयात्रामा सहभागी भएको क्षण मलाई अहिले जस्तै लागिरहेको छ । त्यो बेला नेपाल बिद्यार्थीसंघको एउटा १७ बर्षे ठिटो बीपीको शबयात्रामा सहभागी भएर बेलुका कोठामा फर्किदा रातको २ बजेको थियो । एकातिर दिनभरिको लामो शबयात्राको थकान अर्कोतिर बी पी कोइरालाको असामयिक निधन त्यो पनि ६७ बर्षको उमेरमा जसले हामीलाई शोकमग्न बनाइरहेको थियो । भारतका तात्कालिक पत्रकार भोला चटर्जीले बीपी कोइरालसंग लिएको अन्तिम अन्तरबार्ता हामीहरुको हातमा थियो जहा बीपीले पूर्ण प्रजातन्त्रको लागि अपिल गर्नु भएको थियो ।
मेरो परम आदरणीय गुरुदेब धनन्जय शर्मा अधिकारी जोसंग मैले राजनीतिक स्कुलिग मात्र होइन पत्रकारिताको कखरा समेत सिकेको थिएं मिसन पत्रकारिताको युगमा जहां हाम्रो मिसन पत्रकारिता केबल लोकतन्त्र मात्र हुन्थ्यो ।
मेरो आदरणीय गुरुदेब धनन्जय गुरुलाई जिम्मा लगाएर त्यो बेला मेरो पिताश्रीले मलाई अध्ययनकालागि काठमाण्डौ पठाउनु भएको थियो राजा दशरथले आफना छोरा रामलाई महर्षि बाल्मिकीको जिम्मा लगाएर पठाएको जस्तै । बी पी कोइरालाको निधनको केही समय अघि म धनन्जय गुरुको पछि लागेर चाबहिल स्थित बी पी कोइरालाको निबासमा पुगेको थिएं । त्यो बेला मेरो बीपी कोइरालासग पहिलो भेट भएको थियो धेरै कलिलो उमेरमा । मैले बी पीलाई केबल हेर्ने इच्छाले त्यहा पुगेको थिए भने बी पी कोइरालाले मेरो गांउ समेत जिल्ला र सबै बिबरण सोध्नुभयो । मैले मेरो घर ज्ञादीचौर कटुवाचौेपारी पर्बत भने बीपीले म पनि तिम्रो गांउमा गएको छु भनेर भनेपछि मेरो पनि थप जिज्ञासा बढेको थियो । त्यसपछि बी पी कोइरालाले २०१५ सालको निर्बाचनमा आफुलाई ज्ञादीमा धेरै भब्य स्वागत गरिएको तर रातो कार्पेट बिछाएर स्वागत गरेको समाजबादी शैली नभएको बताउदै उहांले नेपाली कागे्रसको तात्कालिक कार्यकर्ताको रुपमा पे्रम शर्माको नाम लिनु भयो अरुको कुरा मैले सानो उमेरको कारण सम्झन सकिन ।
आजको दिनका सोसियल मिडिया हेर्ने हो भने बीपीलाई सबैले एकै स्वरमा महामानब भनेका भन्यैछन । हिजोको दिनमा बीपीलाई फांसी दिनुपर्छ भन्नेहरु आज बी पीलाई महामानब भनिरहेका छन । हिजोको दिनमा बीपीलाई भारतीय दलाल भन्ने पूर्बराजा महेन्द्रले जन्माएका कम्युनिष्टहरु पनि आज बीपीलाई महान राष्टबादी भनिरहेका छन । हिजोको दिनमा बीपी कोइरालाको सरकार अपदस्थ गर्न षडयन्त्र गर्ने र बीपीलाई जेल हाल्नेहरु आज त्यो स्वीकार गर्दै राष्टियताको मुद्दामा बीपीले आफनो घाटी राजासंग जोडिएको भन्ने भनाइ स्मरण गर्दै आंखाबाट आंसु खसालिरहेका पनि आज बीपीलाई यो देशको एकमात्र महान राष्टबादी नेता भनिरहेका छन । कोशी र गण्डक सम्झौतामा बीपीलाई जीवनभर सराप्ने नेपाली कथित बामपन्थीहरु महाकाली सन्धीमा आफुले पनि हस्ताक्षर गरेपछि बी पी यथार्थबादी र ब्यबहारबादी नेता भन्दैछन । त्यसअर्थमा बी पी आजको दिनमा राजादेखि रंकसम्मको राजनेता बनेका छन ।
त्यसो त आजको दिनमा बीपी कोइरालाको उच्च मूल्यांकन गर्ने हो भने उनले गरेका धेरै काम हेर्नु पर्दैन एउटा सामान्य काम हेरे पुग्छ अहिले एमसिसिको नाममा राष्टिय सहमति जुटाउन नसकेर अन्योलमा थिलाथिला परिरहेका नेपाली नेताहरुले । बीपीले आफनो सरकारको पालामा गरेको एउटा साहसिक र चुनौतिपूर्ण कामबाटै बी पी कोइरालाको लौहपुरुषरुपी योग्यता देखिन्छ । त्यो हो अरब इजरायल युद्धमा होमिएको इजरायलसंग नेपालको कुटनीतिक सम्बन्ध कायम गर्ने कुरा । त्यो समय चीन र भारत दुबै समेत एशियाका धेरै देशहरुले इजरायललाई अछुत जस्तो ब्यबहार गरेका थिए उनीहरुको इजरायलसग कुटनीतिक सम्बन्ध थिएन ।तर बी पी कोइरालाले एउटा सार्बभौम देशको रुपमा चीन भारत दुबैको इशारा नहेरिकन इजरायलसंग दौत्य सम्बन्ध कायम गर्नु भएको थियो त्यो पनि कम साहसिक कुरा थिएन त्यो बेलाको रणनीतिक कारणले । त्यो पनि एकातिर नेहरु अर्कोतिर माओ स्वंय रहेको समयमा । त्यो मात्र होइन सगरमाथाको चिनिया दाबीलाई लिएर बेइजिडमा बीपी कोइराला र गणेशमान सिंह समेत धेरै असन्तुष्ट बन्नु भएको थियो चीनका माओ र चाउ एनलाईसग । माओ र चाउएनलाईको चिनिया टोलीले सगरमाथा दाबी गरेपछि गणेशमान सिंहले चिनियाहरुले दिएको डिनर बहिस्कार गर्ने धम्की दिनुभएको थियो अनि बीपीले उहांलाई डिनरमा जान धेरै बेर सम्झाउनु परेको थियो । त्यसअर्थमा बी पी कोइराला नेपाली राजनीति र साहित्यमा समेत बहुआयामिक ब्यक्तित्व हुनुहुन्थ्यो ।
कुनै पनि राजनीति गर्ने मानिसको असली परिक्षा त्यो बेला हुन्छ जुन बेला उ मन्त्री र प्रधानमन्त्री हुन्छ अनि उसले आफनो कार्यकाल पुरा गरेर हिडछ । तर २०४६ सालको जन आन्दोलनका कमाण्डर गणेशमान सिंहलाई भने बीपी कोइरालाको पाच बर्ष शासन चलाएको हेर्ने धोको पुरा भएन । मैले असन बजार पत्रिकालाई लिएको एक अन्तरबार्तामा २०४६ सालको कमाण्डर गणेशमान सिंहले भन्नुभएको थियो बी पी कोइरालाको प्रधानमन्त्री काल पुरा समय हेर्ने मेरो इच्छा थियो । त्यो बेला मात्र थाहा हुनेथियो कोइराला कुन क्याटागोरीमा पुग्नुहुन्थ्यो । त्यो मेरो इच्छा राजा महेन्द्रको महत्वाकांक्षाले पुरा हुन पाएन ।
त्यसो त आजको दिनमा बी पी कोइरालाकोे एक अनुयायीलाई महामानब भनेको पक्तिकारकालागि खुसीको कुरा हो तर बी पी कोइराला भगवान नै हुन भन्ने तर्कसंग भने म सहमत हुन सक्दिन । किनकी मानिस भगवान हुन सक्दैनन । केबल उत्कृष्ठ मानव मात्र हुने हो त्यस अर्थमा बी पी कोइराला एक असल राजनेता हुनुहुन्थ्यो जसले अर्को चुनावको मात्र होइन अर्को पुस्ताको चिन्ता गर्नु भएको थियो । त्यस अर्थमा बीपी असल राजनेता हुनुहुन्थ्यो । आजको पबित्र दिनमा महान आत्माप्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?