जातीय विभेदका घटनाका दोषिलाई कार्वाही र पीडित परिवारलाई क्षेतिपूर्ति दिन माग


असाजे ४ काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले देशभर दलित समुदायमाथि भएका जातीय विभेदका घटनाका दोषिलाई कार्वाही र पीडित परिवारलाई क्षेतिपूर्ति दिन माग गरेको छ ।
राज्यका कारण विभेदका घटना बढिरहेको भन्दै मोर्चाले कतिपय ठाउँमा प्रहरी प्रशासन वाटै दलित समुदाय उत्पीडनमा पर्ने गरेको दावी गरेको छ ।
मोर्चाले पीडकमाथि कारबाही र पीडितलाई न्याय दिन सरकारसँग जोडदार माग गरेको छ ।
मोर्चाका केन्दीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै वर्तमान दलाल संसदीय व्यवस्था उत्पीडित जाति, जनजाति, दलित समुदाय र तल्लो वर्गका पक्षमा नरहेको प्रमाणित भएको उल्लेख गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दलित समुदायमाथि पछिल्लो समय देशव्यापी भइरहेका विभेदका घटना र राज्यद्वारा त्यसमाथि गरिएको बेवास्ता र विभेदपूर्ण व्यवहारप्रति हाम्रो गौरवशाली सङ्गठन दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तीमा कैलाली जिल्लाका १९ वर्षीय युवक रोशन विकको प्रहरी हिरासतमा चरम यातनापछि भएको मृत्युको घटनासम्म आइपुग्दा यो वर्ष मारिने दलित समुदायका व्यक्तिहरूको सङ्ख्या दर्जन नाघेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ५ जाईटोलका निज रोशनलाई सार्वजनिक मुद्दामा भदौ २२ गते पक्राउ गरिएको र २४ गते हिरासतमा आत्महत्या गरेको खबर सार्वजनिक गरिएको थियो । प्रत्यक्षदर्शी र घरपरिवारका अनुसार ती युवकको शरीरमा पूरै घाउचोट र निलडाम देखिएकाले उक्त घटना आत्महत्या नभई प्रहरीको यातना र कुटपिटबाट हत्या भएको छर्लङ्ग हुँदा पनि प्रहरी प्रशासनले सामान्य अनुसन्धान टोली निर्माण गरेर घटनालाई ढाकछोप गरी आत्महत्या नै साबित गर्ने प्रयास भैरहेको देखिन्छ ।’
विज्ञप्तिमा विभेदको तथ्याङ्क प्रस्तुत गर्दै अगाडि भनिएको छ, ‘ रौतहट जिल्लाको गरुडास्थित नर्सरीमा काम गर्ने २१ वर्षीय निरञ्जन रामको हत्याकाण्डमा साहू फरार तर प्रहरीद्वारा सोझासीधा दलित समुदायका व्यक्तिहरू पक्राउपछि यातनाबाट विजयरामको मृत्यु र लास शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा अलपत्र, धनुषामा शम्भु दासको हत्या, सप्तरीमा दलित युवतीको बलात्कार घटनाको उजुरी दिने त्रिभुवन रामको घाँटी रेटी हत्या, रौतहटकै गडीमाईमा ३५ वर्षीया मित्रादेवी बैठाको १४ भदौमा उखुबारीमा बलात्कारपछि हत्या, त्यस्तै रूपन्देहीमा १३ वर्षीया अङ्गिरा पासीको गत जेठ १० गते बलात्कारपछि हत्या र सप्तरीमा सडक मिचेको विरोध गर्दा दलित बस्तीमाथि आक्रमण र कुटपिट गर्दा २ जना दलित सख्त घाइते आदि यसबीचका प्रतिनिधिमूलक घटनाहरू हुन् ।
विज्ञप्तीमा जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाह प्रसङ्गमा पूरै गाउँलेको आक्रमणमा ६ जना युवाको बीभत्स हत्या यीमध्ये सबैभन्दा भयानक र दर्दनाक घटना हो भनएिको छ ।
मोर्चाले विज्ञप्तिको अन्त्यमा भनेको छ, ‘दलित समुदायमाथि भइरहेका यसप्रकारका अन्याय र अत्याचारबीच राज्यले संविधान दिवस सबैले खुसीसाथ मनाइरहेका छन् भन्नु हास्यास्पद हो । उपरोक्त घटनाक्रमहरूबाट स्पष्ट हुन्छ– वर्तमान दलाल संसदीय व्यवस्था उत्पीडित जाति, जनजाति, दलित समुदाय र तल्लो वर्गका पक्षमा छैन ।
विज्ञप्तीमा सम्पूर्ण घटनाहरूको घोर निन्दा एवम् भत्र्सना गरिएको छ । यी घटनाहरूको गहिराइमा छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय र क्षतिपूर्ति प्रदान गर्न मोर्चाले राज्यसँग जोडदार मांग गर्दै यदि मागको सुनुवाई नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार राज्य स्वयम् हुनुपर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?