तीन परियोजनाका लागि ३८ अर्ब ६५ करोड लगानी स्वीकृत


२६ कात्तिक, काठमाडौं । लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत गरेको हो ।

यसैगरी लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल भएको थियो ।

लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने बारे तथा नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) को स्थापना र उपयोग गर्ने सम्बन्धमा पनि छलफल भएको बोर्डले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्धी एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले विद्युत उत्पादन सँगसँगै विद्युत खपतको योजनासमेत सम्बन्धित निकायहरुले मिलेर बनाउनुपर्नेमा जोड दिएका थिए ।

कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै उनले परियोजना कार्यान्वयनमा भइरहेका काममा हुने विलम्वलाई हटाउन नयाँ प्रविधिको आवश्यकतामा समेत जोड दिएका थिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डमार्फत् प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?