दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै


२८ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।

यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ । सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम बताउँछन् । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिए । मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको प्राध्यापक डा. गौतमले सुनाए ।

नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?