कोरोना खोपबारे काम गरिरहेका संस्थामाथि उत्तर कोरिया र रुसका ह्याकरको निशाना


कानुनी कदम चाल्ने माइक्रोसफ्टको चेतावनी

6

कोरोना खोपबारे काम गरिरहेका संस्थामाथि उत्तर कोरिया र रुसका ह्याकरको निशाना

कानुनी कदम चाल्ने माइक्रोसफ्टको चेतावनी

6SHARES

हरपल नेपाल संवाददाता प्रकासित मिति : २०७७ मंसिर १, सोमबार प्रकासित समय : १२:२५

उत्तर कोरिया । प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोना भाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।

उसले फ्यान्सी बियर रुसी समूह एवम् उत्तर कोरियाली जिन्क र सेरियम समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्।

यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।

ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए। तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।

माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन्। निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका छन्।

माइक्रोसफ्टले भनेको छ, रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ब्रुट फोर्स उपाय अपनाएको छ।

एउटा उत्तर कोरियाली समूहले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अधिकारीको नाम प्रयोग गरेर इमेल पठाएर पासवर्ड हत्याउने प्रयास गरेको छ।

त्यस्ता प्रयासहरू केही असफल भए पनि केही सफल समेत भएका भन्दै माइकोसफ्टले सजग गराएको छ। रुसले यसअघि खोपको अध्ययनलाई लक्षित गरिएको भन्ने विवरण अस्वीकार गरेको थियो।

वाशिङ्टनस्थित रुसी दूतावासले अमेरिकी समाचार संस्था रोयटर्सलाई यसबारे थप भन्ने कुरा नरहेको प्रतिक्रिया दिएको छ। राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्।

माइक्रोसफ्टले विश्व नेताहरूलाई एउटा आग्रह गर्दै स्वास्थ्य सेवाका पूर्वाधारमा अन्तर्राष्ट्रिय कानुनको सुनिश्चितता गर्न र त्यसको कार्यान्वयनका लागि कदम चाल्न आग्रह गरेको छ। अमेरिकाले चीनलाई समेत त्यस्ता गतिविधिको आरोप लगाए पनि बेइजिङ्ले त्यसलाई अस्वीकार गर्दै आएको छ।

ह्याकरको प्रयास अनुसन्धानमा अवरोध पुर्‍याउने भन्दा पनि विवरण चोर्न खोजेको पाइएका छन्। तर अपराधिक समूहहरू संलग्न भएका घटना समेत बढ्दै गएको पाइएका छन्।

यो सबै खोपको लागि भइरहेको विश्वव्यापी प्रतिस्पर्धा र एकअर्काबीच कसले त्यसको फाइदा उठाउने भन्ने दौडको पाटो हो, बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोर्रिया भन्छन्।

यसको फाइदा आर्थिक, सामाजिक र स्वास्थ्यकै हिसाबले विशाल छ। सबैभन्दा पहिले र छिटो खोप वा उपचार विकास गर्दा त्यसले विदेश र स्वदेशमै प्रतिष्ठा उच्च पार्नेछ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?