‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ विमोचित


काठमाडौँ : कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । यसअघि राजभण्डारीको ‘पाश्चात्य कला ः संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ ।

चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गर्नुभएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त उहाँ नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत हुनुहुन्छ । सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढङ्गले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गर्नुभयो । उहाँले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अङ्गिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गर्नुभयो ।

प्रा डा अभि सुवेदीले पश्चिमी कलाका बारेमा नेपालीमा खासै पुस्तक नलेखिएकाले सो पुस्तक निकै महत्वको बताउनुभयो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको तथा कलाका विभिन्न शैलीलाई तथ्यपरक ढङ्गले पुस्तकमा चित्रण गरिएको विचार व्यक्त गर्नुभयो ।

पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गर्नुभयो । लेखक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्व रहेको बताउनुभयो । डा गीता त्रिपाठीले कृतिको भाषिक पक्ष राम्रो रहेको बताउँदै कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकका लेखक राजभण्डारीले कृति नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि एउटा पाठ्यसामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?