भारतद्वारा नुवाकोटमा हालै पुनर्निर्माण भएका चारवटा विद्यालयहरुको उद्घाटन


काठमाडौं (असन बजार पत्रिका): भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चारवटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएका हुन् । उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका यी चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैया रहेको छ । यी नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्नेछ । शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता अनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ । यी चार विद्यालय पनि यही परियोजना अन्तर्गतका हुन् । यस परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरु क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् । हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरु निमार्णाधीन अवस्थामा छन् ।

कार्यक्रममा बोल्दै प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिनुभयो । शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदानगर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ । राष्ट्रको विकासमा योगदान पुनयाउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन श्री नवीन कुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो ।

यी बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता पनि जनाइसकेको छ । अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुनयाएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सवलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न दुवै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको भारतीय दूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?