वाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदान


काठमाडौँ: नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य र संस्कृति’ पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले आज यहाँ आयोजित समारोहमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उहाँकी धर्मपत्नीका नाममा रहेको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कारको राशी रु एक लाख एक हजार १११ नगद र सम्मानपत्र रहेको छ ।

पूर्वप्रधानमन्त्री रिजाल मुलुकको दुईपटक प्रधानमन्त्री रहँदा छिमेकीसँगको सम्बन्ध सुधारमा उल्लेख्य प्रगति हासिल गर्नुका साथै शिक्षा क्षेत्रको सुधारमा परिणाममुखी काम गर्नुभएको थियो । सो अवसरमा उपकुपति उप्रेतीले त्यस समयका अरु प्रधानमन्त्रीका तुलनामा मुलुक र जनताका हितमा काम गर्ने तथा देशको ढुकुटीको दुरुपयोग गर्न हुन्न भन्ने मान्यता राख्ने स्व रिजाल इमान्दार नेताका रुपमा स्थापित हुनुहुन्थ्यो भन्नुभयो ।

पूर्वसूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राजनीतिक क्षेत्रका आफ्ना आदर्श र प्रेरणका रुपमा रहनुभएको पूर्वप्रधानमन्त्री रिजाल नेपाल र नेपाली भनाइका लागि काम गर्नुभएको घटना स्मरण गराउनुभयो । पुरस्कृत स्रष्टा जोशीले पूर्वप्रधानमन्त्री रिजाललाई नेपाली समाजले निष्कलङ्क, अनुशासित र निर्मल व्यक्तित्वका रुपमा चिन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार निर्माण गरेर मात्र नपुग्ने हुँदा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन हुनु आवश्यक छ ।”

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सचिव दधिराज सुवेदी, सदस्य सुरेशकुमार शर्मा, साहित्यकार विवश पोखरेल, गीतकार डा भोला रिजाललगायतले सम्मानित व्यक्तित्व जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका ज्ञाता भएको बताउनुभयो । उहाँले नेपाली राजनीतिमा देशप्रेमी र स्वच्छ छवि स्थापित गर्न सफल पूर्वप्रधानमन्त्री रिजालका नाममा स्थापित पुरस्कार मुलुकै गौरव जोशीलाई प्रदान गरिदा संस्थाकै ओज र सम्मान बढेको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?