‘घर र बस्ती सफा–सुन्दर बनाइराख्नुस्’


राजुकमार पराजुली

काभ्रेपलाञ्चोक: पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले हरेक कार्यक्रम तथा स्थानीयसँगको छलफलमा ‘आफ्नो घर र बस्ती सरसफाइ बनाइराख्नुस्’ भन्न छुटाउनुहुन्न । “घर र बस्ती सफा राखिराख्नुस् सुन्दरता आफैँ थपिँदै जान्छ”, उहाँले दाहोर्याइरहने वाक्य हो यो ।

प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न सक्छ–राख्नुपर्छ, यसमा विशेष ध्यान दियौँ भने मात्रै बस्ती सफा, सुन्दर र हराभरा हुने न्यौपाने बताउनुहुन्छ । उहाँले आफ्ना घर वरिपरिको खाली जमिनमा तथा खेतबारीका छेउछाउमा फलफूलका बिरुवा रोप्नसमेत नगरवासीमा अनुरोध गर्दै आउनुभएको छ । “हामीले नगरवासीलाई हावापानी र भूगोल उपयुक्त बिरुवा उपलब्ध गराउने योजना बनाएका छौँ”, न्यौपानेले भन्नुभयो ।

नगरवासीले बजारबाट ल्याइने प्लाष्टिकजन्य झोला, चाउचाउको खोल तथा अन्य प्याकिङका सामग्री घरमै सङ्कलन गरी पालिकाबाट आउने फोहोर सङ्कलनकर्तालाई दिने बानी बसाल्नुपर्ने बनेपा पाँचखाल नपाप्रमुख महेश खरेलले बताउनुभयो । उहाँ सार्वजनिकस्थल, धार्मिकस्थल तथा मन्दिर, पोखरी, पर्यटकीयस्थलको सरसफाइका लागि सामूहिकरूपले हप्ताको एकदिन स्वयंसेवकका रूपमा सरसफाइमा समय दिनसमेत आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरल र सर्भसुलभरूपमा उपलब्ध हुने सिमेन्टका बोरा प्रयोगमा ल्याई फोहर सङ्कलन गर्ने वस्तुको उपयोग गरी बिना लगानी सरसफाइको व्यवस्थापन गर्न सकिन्छ, यसले सरसफाइ गर्ने बानी बस्दै जान्छ ।”

स्थानीय तहले आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गर्दै आएका छन् । सरकारको ‘सुखी नेपाली ः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पुर्याउने उद्देश्यसहित काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् । आफ्ना क्षेत्रका बासिन्दामा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिको एउटै प्रकृतिका सुझाव तथा आग्रह छन् । काभ्रेपलाञ्चोकमा छ नगरपालिका तथा सात गाउँपालिका छन् ।

घरका भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याएर राख्न, आफ्नो घर अगाडिको नालामा फोहर नफाल्न तथा आफैँले सधैँ सफा बनाइराख्न, बाटो, नाला, चोक, गल्ली, जताततै फोहर हुँदा घरको सुन्दरता, पानीको निकास र घुमफिर गर्ने ठाउँसमेत दुर्गन्धित हुनाले सरसफाइमा सचेत भई सचेतना गराउनसमेत स्थानीय तहले अनुरोध गर्दै आएका छन् । नमोबुद्ध नपाप्रमुख टङ्कप्रसाद शर्मा भन्नुहुन्छ, “घरलगायत हरेक क्षेत्रको सरसफाइ गर्न स्थानीय सरकारसँगै नागरिकको कर्तव्य हुन्छ, यसैले हामीले सभ्य भई सभ्यताको परिचय पनि दिन सक्नुपर्छ ।”

आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्दा विभिन्न रोगको सङ्क्रमण न्यूनीकरण हुँदै जाने बताउनुहुन्छ बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे । उहाँ भन्नुहुन्छ, “वर्षायाममा फोहर पानी जमेकै कारण डेङ्गुको सङ्क्रमण बढ्दै जान्छ, आफू सफा रहनु र घर तथा वरिपरि सफा राख्दा स्वस्थ भइन्छ, जीवन राम्रो हुन्छ ।” बस्ती सुन्दर र स्वच्छ बनाइराख्न वनजङ्गलको संरक्षण गरी खाली जमिनमा वृक्षरोपण गर्न तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङको स्थानीयवासीलाई सुझाव छ । “जथाभावी रुख नकाटी, प्राकृतिक जडीबुटीको समेत संरक्षण गर्नुपर्दछ, वनलाई आफ्नो जीवन जत्तिकै माया गर्नुपर्दछ, आफूमात्र हैन सन्ततिलाई पनि स्वच्छ वातावरणमा बाँच्ने आधार दिन सक्नुपर्दछ”, उहाँ भन्नुहुन्छ ।

तेमाल गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर श्रेष्ठ ऐतिहासिक धरोहरका रूपमा स्थापित सार्वजनिक सम्पत्ति संरक्षण गर्न वडावासीमा अनुरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्दर वडा बनाउन वडावासीको साथ र सहयोग चाहिन्छ, अनि मात्रै लक्ष्मा पुग्न सक्छौँ ।” आफ्नो घर, बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्दा ‘मन शान्त’ भइराख्ने पनि स्थानीय तहका जनप्रतिनिधिका मनोवैज्ञानिक धारणा छन् । एक वर्षदेखि कोरोना भाइरसको सङ्क्रमणले नेपालीसमेतको जीवनशैली नै परिवर्तन भइरहँदा व्यक्तिगतसँगै हातको सरसफाइ र एकअर्काबीच दूरी कायम गर्न सुझाव दिँइँदै आइएको छ । “कोरोना भाइरस सङ्क्रमणबाट बच्ने एउटै प्रमुख उपाय व्यक्तिगत सरसफाइ नै हो, समाजिक दूरी र सरसफाइलाई ध्यान दिए उक्त भाइरसबाट बच्न सकिन्छ”, काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा भन्नुहुन्छ । उहाँले अहिले पनि यसप्रति विशेषरूपमा ‘सचेत रहन’ आग्रह गर्नुभएको छ । हाल आएर कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले आइतबार सूचना जारी गर्दै सभा जुलुस गर्न रोक लगाउँदै जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?