राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली


काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको बताउनुभयो ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको हो ।
भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भई बङ्गलादेशका शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहभागी मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो । सो समारोहमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू एवं विशिष्ठ व्यक्तित्व सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीले बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रममा “नेपाल–बङ्गलादेश सम्बन्ध एवं बङ्गबन्धुको जन्म शतवार्षिकी” शीर्षकमा मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको मन्त्री ज्ञवालीले बताउनुभयो । राष्ट्रपति भण्डारीले बङ्गबन्धुको व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपालको सांस्कृतिक टोलीद्वारा नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिसँग ढाकामा सोमबार द्विपक्षीय वार्ता गर्नुभएको थियो । सो वार्ताको क्रममा उहाँहरूबीच नेपाल तथा बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो ।
त्यस अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल भएको थियो ।
भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । साथै, अन्तर्देशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालको विकास गर्ने, नेपालको लागि बङ्गलादेशबाट थप पारवाहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयहरूमा छलफल भएको थियो ।
भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो समयमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको र भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच विभिन्न चार समझदारी पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
राष्ट्रपति सोमबार साँझ उहाँको सम्मानमा बङ्गलादेशका राष्ट्रपतिबाट आयोजित राजकीय भोजमा सरिक हुनुभएको थियो । यसैगरी आज बिहान राष्ट्रपति भण्डारीले बङ्बन्धु मेमोरियल म्युजियमको भ्रमण गरी र बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपतिले हिजै ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपाली नागरिकहरूसँग भेटघाट गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवालीलगायत परराष्ट्र मन्त्रालय, राष्ट्रपतिको कार्यालय एवं सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?