सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह


दमौली: कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहँुमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो ।

फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी निगरानी गर्ने गराउने निर्णय पनि बैकले गरेको छ ।

खुल्लामैदान यथास्थितिमा राख्न माग गर्दै हस्ताक्षर अभियान

तनहुँको सदरमुकाम दमौलीस्थित खुल्ला मैदानमा उद्यान निर्माण शुरु भएपछि त्यसको विरोधमा हस्ताक्षर सङ्कलन थालिएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको खुल्ला मैदानमा सर्वदलीय निर्णय बमोजिम व्यास नगरपालिकाले उद्यान निर्माण शुरु भएपछि स्कूल अफ डेमोक्रेसीको नेतृत्वमा आजबाट हस्ताक्षर सङ्कलन अभियान थालिएको हो ।

खुल्ला मैदानलाई यथास्थितिमै राख्नुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइएको उक्त संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । भूकम्प गएका बेला सर्वसाधारणलाई आश्रय दिएको उक्त मैदानमा संरचना निर्माण गर्न लागेपछि आफूहरु विरोधमा उत्रिनुपरेको अधिकारीले बताउनुभयो ।

खुल्ला मैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले प्रेस विज्ञप्ति जारी गरी सर्वदलीय बैठकबाट सहमति भई पार्क निर्माण कार्य शुरु गरिएको जानकारी गराउनुभयो । स्थानीय तहको पुनःसंरचना पछि उक्त चौरमा करीब आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?