समृद्ध नेपाल निर्माणका लागि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ: गृहमन्त्री थापा


काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा आव २०७७÷७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कले सीमामा बिओपीको सङ्ख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।”

मन्त्री थापाले गृहमन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको उल्लेख गर्दै कार्यशैली परिमार्जन गरेर भएपनि ठोस उपलब्धि ल्याउन कर्मचारीलाई निर्देशन दिनुभयो । “हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पूरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन”, उहाँले भन्नुभयो ।

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले मन्त्रालय र मातहतका निकायको दोस्रो चौमासिक अवधिसम्म पूँजीगत खर्च तथा बेरुजु फछ्र्योट कम भएको भन्दै त्यसमा गुणात्मक परिवर्तन हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

बैठकमा गृहमन्त्रालयअन्तर्गत नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?