काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर


राजकुमार पराजुली

काभ्रेपलाञ्चोक: नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।

आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताउनुभयो । “आगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।

आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई÷चार सङ्ख्यामा गोठ रहेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी निकै त्रसित अवस्थामा रहेका छन् ।” उहाँले आगलागी फैलिएर मानव बस्तीतिर आउसक्ने देखिए जिल्लास्थित विपद्–उद्धार समितिमार्फत थप उपकरणसहित सहयोगी जनशक्ति ल्याइने बताउनुभयो ।

काँक्रेको आगलागीसमेत गरी दुई महिनाको अवधिमा काभ्रेपलाञ्चोकको विभिन्न ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय धुलिखेलका अनुसार फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको हो । काँक्रेबाहेक सबै आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत न्हुच्छेमान श्रेष्ठका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका–४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो ।

त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो । खानीखोला गाउँपालिका–५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा–५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा–३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा–११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।

यसैगरी बेथानचोक गाउँपालिका–५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचखाल नपा–९ को सिम्ले लामीडाँडा र भान्छेपोखरी सामुदायिक वन, महाभारत गाउँपालिका–४ स्थित सार्दुङमुलेङ्ख सामुदायिक वन तथा ५ नं वडास्थित दुङ्गरीपाखा सामुदायिक वनमा डढेलो लागेको थियो ।

काभ्रेपलाञ्चोकको नौ स्थानीय तहका जङ्गलमा आगलागी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा जनाइएअनुसार पाँच वर्षयता धेरै जङ्गल क्षेत्र तथा भू–भागमा डढेलो लागेको हो । तथ्याङ्कमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाको २९ हेक्टर, भुम्लुको १४५ हेक्टर, खानीखोलाको ९० हेक्टर, चौँरीदेउरालीको ७८ हेक्टर, महाभारतको ३३ हेक्टर जङ्गलमा डढेलो लागेको उल्लेख गरिएको छ । साथै पनौती नगरको २५ हेक्टर, मण्डनदेउपुर नगरको २२ हेक्टर, नमोबुद्ध नगरको पाँच र पाँचखाल नगरको तीन हेक्टर जङ्गलमा आगलागी भएको थियो ।

डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोट–बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको कार्यालयले जनाएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

पाँच वर्षअघि यही समयमा काभे्रपलाञ्चोकका विभिन्न सामुदायिक वनको डढेलोले करिब एक हजार ३०० हेक्टर क्षेत्र नष्ट भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार विसं २०७२ को फागुनदेखि वैशाखसम्मको डढेलोले जिल्लाको दक्षिणी महाभारत पहाड शृङ्खलामा बढी क्षति पु¥याएको थियो । त्यसबेला महाभारत क्षेत्रको २५० हेक्टर, जनागाल क्षेत्रको ५५ हेक्टर, नारायणस्थान क्षेत्रमा ६० हेक्टर, खोपासी क्षेत्रमा ३३९ हेक्टर र चौबासमा ७० हेक्टर सामुदायिक वनमा डढेलो लागेको थियो ।

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । त्यसयता सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानी–नोक्सानी र कानूनी व्यवस्थाका बारेमा माइकिङसमेत गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?