नयाँ वर्षमा घुम्न पाँचथरका ‘तीन गन्तब्य’


रवीन्द्र काफ्ले
पाँचथर: तपार्इं नयाँ वर्षमा घुम्न जाने ठाउँ खोज्दै हुनुहुन्छ भने तपाईंका लागि पाँचथरका तीन ठाउँ उपयुक्त गन्तव्य हुन सक्छ । गुराँस र चाँपको फूलले रङ्गीन डाँडामा तपाईंले नयाँ वर्षलाई भरपुर आनन्ददायक बनाउन सक्नुहुन्छ । जसका लागि तपाईंलाई धेरै खर्च लाग्ने वा कसैको माध्यम खोजिरहनुपर्ने बाध्यता हँुदैन । नयाँ गन्तव्यमा पुग्ने तपाईंलाई प्रकृतिको उपहार र स्थानीयवासीको व्यवहारले घुमिरहौँ लाग्नेछ ।

पूर्वका पर्यटकीय क्षेत्र भन्ने वित्तिकै सबैको नजर पर्ने इलाम र ताप्लेजुङको बीचमा खुम्चिएको पाँचथरमा पर्यटक रमाउने त्यति धेरै गन्तव्य छैनन् । भएका गन्तव्यमा पूर्वाधार बनिनसकेको तथा प्रचारको अवस्थाको कमी छ । तर वसन्त ऋतुको आगमनसँगै उच्च पहाडको रुप बदलिन्छ । एकै ठाउँबाट हिमाल र तराई देखिने डाँडाकाँडा गुराँसको फूलमाथि पाइला चाल्दै पुग्नुपर्छ । चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौँरी र भेडाका घण्टीको ‘टिङटिङ’ आवाजले आनन्दको चरमोत्कर्षमा पु¥याउँछ । त्यसैले नयाँ वर्षमा यहाँले पाँचथरका तीन गन्तव्यमा घुमघामको चाँजोपाजो मिलाउन सक्नुहुन्छ ।

पहिलो ः लब्रेकुटीदेखि लोहाकिलसम्म

झापाको विर्तामोडबाट ट्याक्सी चढेर करिब चार घण्टाको यात्रापछि आठ हजार २०० फिट उचाइमा रहेको पौवाभञ्ज्याङ बजार आइपुगिन्छ । मौसमअनुसारका स्थानीय उत्पादनको स्वाद लिन पाइने पौवाभञ्ज्याङमा अडिएर स्थानीयवासीसँग कुरा गरेपछि तपाईंलाई पहिले कता जाऔँ भन्ने हुटहुटी हुन्छ । किनकी वरिपरि सबै घुम्ने ठाउँ मात्रै भेटिन्छन् । मेची राजमार्गमै पर्ने कान्छीदोकान बजार पुगेर घुमघामको शुरुआत गर्नु सहज हुन्छ ।

त्यहाँबाट करिब दुई किलोमिटर यात्रापछि लब्रेकुटी पुगिन्छ । किराँत धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने यो पवित्रस्थलमा किराँत धर्मावलम्बीका मौलिकतासँगै अध्यात्म र रमणीय प्रकृतिको सुगन्ध भेटिन्छ । लब्रेकुटी माङहिम (मन्दिर) र माङहिममाथि रहेको गुराँसको जङ्गल घुम्दा दिन बितेको पत्तो हुँदैन । गुराँसका स–साना बोटले बनेको स्वागतद्वारले पर्यटकलाई सधैँ कुरिरहेको छ ।

समय रहेमा फाँटिलो चौरबाट निर्माणाधीन सिंढीमार्ग हुँदै तपाईं सिलौटी लाग्नुहोस् । सिलौटी महागुरु फाल्गुनन्दको समाधि भएको अग्लो डाँडो हो । किराँतीहरुले कुम्भकर्ण (फक्ताङलुङ) लाई मोक्षस्थल मान्दछन् । तर फक्ताङलुङ पुग्न नसक्नेहरु सिलौटीबाटै फक्ताङलुङ दर्शन गरी मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । त्यही कारण यहाँ फाल्गुनन्दको समाधि रहन गएको हो । लब्रेकुटी वा सिलौटी घुमेपछि कान्छीदोकान बजार हुँदै केही किलोमिटर यात्रा गरेर लालीखर्क पुग्न सकिन्छ । जहाँ घरबास (होमस्टे) मा स्थानीय उत्पादनका मिठा परिकार खान पाइन्छ । त्यहाँबाट फर्केर पौवाभञ्ज्याङ पुग्न सकिन्छ । जहाँबाट उत्तर लागे साधुटार पुगिन्छ, पूर्व लागे लोहकिल, अनि दक्षिणपूर्व लागे सिलौटी ।

साधुटारको सानो पोखरी अहिले सबैको रोजाइँमा पर्न थालेको गन्तव्य हो । कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको छायाँ डाँडामा रहेको सानो पोखरीमा पर्दा देखिने दृश्यमा मोहित नहुने शायदै कोही होलान् । छोटो समयमा धेरै आनन्द लिन सकिने साधुटारबाट बचेको समय लिएर लोहाकिलतर्फ घम्न जान सकिन्छ । काखमा रहेको सुकेपोखरी र आसपासका घरबासमा विश्राम गरेपछि सूर्योदय र सूर्यास्त हेर्ने, गुराँसै–गुराँसको जङ्गलमा लुकामारी खेल्ने, इलामपट्टिको पाटेनागी र कुहिभीरमा पिकनिक खाएर सेरोफेरो घुम्न सकिन्छ । इच्छानुसारको रमाइलो लोहाकिलले दिन सक्छ र यहाँ एक दिनभन्दा बढी समय घुम्न पुग्ने ठाउँ छन् ।

दोस्रो ः लामपोखरीको सेरोफेरो

फिदिम झरेर अलि टाढा जाने र अझै धेरै रमाइलो गर्ने मन भए तपाईं पुग्न सक्नुहुन्छ लामपोखरी । फिदिमबाट जोरपोखरी–थर्पू–च्याङथापू हुँदै कच्ची सडकबाट लामपोखरी पुग्न झण्डै पाँच घण्टा लाग्छ । तर एक दर्जनभन्दा बढी प्रजातिका गुराँस पाइने लामपोखरीमा साना र ठूला गरी आधा दर्जन पोखरी छन् । लामपोखरीमा खाने बस्ने सुविधा छैन । करिब एक घण्टा तल झरेर बस्तीमा वा नजिकैको च्याङथापू बजारमा बस्न सकिन्छ । वरपरका भेडा र गाई गोठकोसमेत अवलोकन गर्न सकिन्छ ।

हरियो घना जङ्गलको बीचमा डाँडामाथि फाँटिलो क्षेत्र अनि पोखरी नै पोखरी । गुराँस र चाँपको फूलको सुगन्ध । लामपोखरी एकछिन घुमेर सकिने ठाउँ छैन् । यहाँ गत वर्षमात्रै सडक पुगेको हो । बाहिरका पर्यटक आउन थालेका छैनन् । स्थानीयवासी लामपोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले जत्तिकै अब्बल रहेपनि पूर्वाधार र प्रचारको अभावले ओझेलमा परेको ठान्छन् ।

तेस्रो ः फालोट

नयाँ वर्षमा नेपाल–भारत सीमावर्ती क्षेत्र फालोट पनि घुम्न उपयुक्त स्थान हो । यो मौसममा सफा मौसम र चिसो मध्यम मात्रै हुन्छ । नयाँ वर्षकै अवसरमा यहाँ चौँरी महोत्सव आयोजना गरिएको छ । नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिने फालोट क्षेत्रबाट तल डाँडा गुराँसले राताम्य देखिन्छन् । गोठबासको आनन्दले घर फर्कौँ भन्ने नलाग्न सक्छ । फालोटका चारराते, तीन सिमाना, गोर्खेपानीलगायत स्थान पुग्न फिदिमबाट कच्ची बाटोको यात्रा गर्नुपर्छ । सडक केही असहज भए पनि गन्तव्यमा पुगेपछि प्राप्त हुने आनन्दले सबै पीडा भुलाउन सहयोग गर्छ । फालोटबाट पदयात्रा गर्दै इलाममा पर्ने चर्चित पर्यटकीय गन्तव्य सन्दकपुर पुग्न सकिन्छ ।
फालोटमा चौँरी र भेडाका गोठहरु छन् । यी नै गोठमा बसोबासको प्रवन्ध मिलाइएको छ । दीप ज्योति युवा क्लबसहित विभिन्न निकायले गोठलाई पर्यटकको बासस्थान बनाउन गोठवासको अवधारणा ल्याएका हुन् । फालोट पुगेपछि एकै दिनमा सबै ठाउँ घुमेर नसकिने हुँदा बास बस्नुपर्ने बाध्यता हुन्छ । गोठवासमा चौँरीको दूधका विभिन्न परिकारदेखि रैथाने खानेकुराको स्वाद चाख्न पाइन्छ । कोरोना भाइरस सङ्क्रमणको महामारी तथा पश्चिम बङ्गालको दार्जिलिङ क्षेत्रमा चुनाव रहेकाले यसपटक नयाँ वर्षमा फालोटमा भारतीय पर्यटकको सङ्ख्या कम हुनेछ जसकाकारण नेपाली पर्यटकले विना भीडभाड घुम्ने मौका पाउन सक्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?