टिपर दुर्घटना हुँदा दुईको मृत्यु


रसुवा : पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपरमा सवार कालिका–१ का वडाध्यक्ष ( गोरखापत्रका रसुवाका पूर्व समाचारदाता) मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ । मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तपुर– मध्यपुरथिमिस्थित अरनिको राजमार्गमा गए राति मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । मध्यपुरथिमि–४ एसएसचोक नजिक अरनिको राजमार्गमा धुलिखेलबाट भक्तपुर हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा५३प ६९३८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटनामा भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० का ३२ वर्षीय महेश शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । दुर्घटनामा भाइते भएका मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?