मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की


ताप्लेजुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाउनुभयो । पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको र त्यसतर्फ कांग्रेसको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

देशलाई सङ्कटबाट जोगाउन यतिबेला कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको स्पष्ट पार्दै उहाँले सम्भव भए आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर वा ताजा जनादेशमा गएर स्थिरता कायम गर्न पार्टी अग्रसर भएको बताउनुभयो । कांग्रेसका निम्ति अहिले नै सरकार निर्माण गर्ने कुरा महत्वको विषयमा नपरे पनि मुलुक र जनताको हितका लागि भने परिस्थिति निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?