नेपाल लगानीका लागि सुगम गन्तव्य: अर्थमन्त्री


काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताउनुभएको छ । अर्थ मन्त्रालय आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताउनुभयो ।

उहाँले तराई मधेशमा विखण्डनको नारा लगाउने सिके राउतलाई सरकारको पहलमा नै मूलधारमा ल्याइएको र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहसमेत शान्तिपूर्ण गतिविधिमा आएकाले शान्ति सुरक्षाका सम्बन्धमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उहाँले पूँजी र प्रविधि भित्र्याउने दूतको रुपमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्रीले गैरआवासीय नेपालीले नेपालको भौतिक पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रका लगानी गर्ने ध्येयका साथ रु १० अर्ब पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडको औपचारिक शुभारम्भ गर्नुभयो । सो फण्डमा सरकारको पाँच प्रतिशत लगानी रहनेछ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी उपेन्द्र महतो अध्यक्ष हुनुहुन्छ ।

यस्तै अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक सदस्यको रुपमा चयन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा कुमार लम्साल, जीवा लामिछाने, डा बद्री केसी, सोनाम लामा, महेश श्रेष्ठ, गौरी जोशी रहेका छन् । शनिबार मात्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पूर्वबैंकर अनलराज भट्टराईलाई चयन गरिएको थियो ।

हाल कम्पनीले दर्ता प्रक्रिया अगाडि बढाएको र संस्थापकबाट रकम जुटाउने काम गरिरहेको छ । एनआरएनएका अनुसार हालसम्म करिब रु तीन अर्ब बराबरको रकम जम्मा भइसकेको छ । सो कम्पनीमा १०० बढी संस्थापक सदस्य रहनेछन् । कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले सरकारले लगानीका लागि सबै प्रकारको सहजीकरण गरेको र केही टुङ्गो लगाउनुपर्ने विषय भए त्यसलाई सम्बोधन गरिने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गैरआवासीय नेपालीको अभियानलाई आआफ्नो स्थानबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । कम्पनीको काम कारवाहीका बारेमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त, कम्पनीका अध्यक्ष महत्तो र प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी गराउनुभएको थियो ।

सो कम्पनीले गैरआवासीय नेपालीका लागि प्राथमिक शेयर बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १० डलरका दरमा शेयर बिक्री गर्ने कम्पनीको योजना छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?