भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोनाभाइरसबाट सङ्क्रमित


नयाँ दिल्ली: भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहनुभएका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उहाँलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् ।
“पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उहाँलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ ।
भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका छन् ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएकोे छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको ‘स्पुत्निक–भी’ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले सवै बयस्कहरुलाई मे महिनादेखि खोप लगाउन थाल्ने भएको छ । यसअघि प्राथमिकता क्रममा परेकाहरुलाई खोप लगाउदै आएकोमा अव बयस्कहरु सवैलाई खोप लगाइने भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले १८ बर्षभन्दा माथिका सवै व्यक्तिलाई मे महिनाको पहिलो दिनदेखि खोप लगाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?