भारतद्वारा नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस प्रदान


काठमाडौं: काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई २०७८ वैशाख ९ गतेका दिन ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गर्यो । यी संघ संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको ‘India@75’ उत्सवको एक हिस्साको रुपमा रहेको छ ।

सन् १९९४ यता भारतीय राजदूतावासले आजको समेत गरि हालसम्म झण्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले Advance Life Support, Basic Life Support र Common Life Support गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ । यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका हुन् ।
त्यसैगरि राजदूतावासले आज प्रदान गरिएका ६ समेत गरि हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरि आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा आज पनि थप एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?