कोरोनालाई परास्त गर्ने तयारीमा स्थानीय तहहरू जुटे


टेकराज पोखरेल
नवलपुर, २७ वैशाख  दोस्रो लहरमा तीव्ररुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरलाई परास्त गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहहरू तयारीमा जुटेका छन् । स्थानीय तहहरू आफैँले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेर कोभिड–१९ लाई परास्त गर्न खटिएका हुन् ।
जिल्लामा ८४६ जना सक्रिय सङ्क्रमित पुगेका छन् । दोस्रो लहरमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो २६ दिनमा जिल्लाका विभिन्न स्थानीय तहमा १४ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले कोभिड नियन्त्रणका लागि स्थानीय तहसहित सबै सरोकारवाला एकजुट भएर लागेको बताउनुभयो ।
जिल्लाका स्थानीय तहमा पाँचदेखि २४ शय्यासम्मका आइसोलेसन निर्माण गरिएको भन्दै आइसोलेसनका सबै शय्यामा अक्सिजन जडान गरिएको चापागाईले बताउनुभयो । स्थानीय तहहरूले आइसोलेसन थप्ने तयारी गरिरहेकाले उनीहरूलाई अक्सिजन सिलिण्डरको उपलब्ध गराउने विषयमा समेत छलफल चलिरहेको चापागाईको भनाइ छ । जिल्लाका विभिन्न स्थानीय तह र जिल्ला अस्पतालमा गरी अक्सिजनसहितको १०० शय्याको कोभिड आइसोलेसन निर्माण गरिएको भन्दै चापागाईले जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्र र सीमा नाकामा कोरोना परीक्षणका लागि एन्टिजिन कीट उपलब्ध गराइएको जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय तहले कोभिड नियन्त्रणका लागि गरेका तयारी र अवस्थाबारे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले अनुगमन गरेर आवश्यकतानुसार निर्देशन तथा सहयोग गरेको छ । डिसिसिएमसीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले स्थानीय तहका आइसोलेसनमा स्वास्थ्यकर्मी, अक्सिजन तथा शय्या मिलाउने काम गरिएको बताउनुभयो । “स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन् तर त्यहाँ स्वास्थ्यकर्मी, अक्सिजन तथा शय्याको व्यवस्थापन व्यवस्थित ढङ्गले भएका थिएनन्” प्रजिअ पङ्गेनीले भन्नुभयो, “केही स्थानमा स्वास्थ्यकर्मी तथा अक्सिजन पठाउने र शय्या व्यवस्थापनको काम ग¥यौँ ।”
देवचुली नगरपालिकाको दुम्कौलीमा रहेका आइसोलेसन केन्द्र कमजोर अवस्थाको रहेकाले रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई कोभिड अस्थायी अस्पताल बनाउने विषयमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । गतवर्ष कोभिडका बिरामीको सफल उपचार गरेको चिकित्सालयमा अक्सिजन, ल्याब थप गरेर गम्भीर अवस्थाका बिरामी उपचारका लागि समेत व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लामा अक्सिजन अभाव नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले जिल्लाका उद्योगी व्यवसायीहरूले राम्रो साथ र सहयोग गरेका बताउनुभयो ।
देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले आफूहरूले अक्सिजन, ल्याब र एक्सरे उपकरण पाएमा आइसियूमा राख्नुपर्ने बाहेकका बिरामीको उपचार गर्न सक्ने बताउनुभयो । “गत वर्ष धेरै सङ्क्रमितको सफल उपचार गरेका थियौँ”, डा पौडेलले भन्नुभयो, “अहिलेको अवस्था पोहोरको भन्दा फरक छ, पोहोर लक्षण नदेखिएका सङ्क्रमितको मात्रै उपचार गरेका थियौँ तर अहिले सामान्य अवस्थाका सङ्क्रमितहरू घरमै आइसोलेसनमा हुनुहुन्छ ।” जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि आफूहरूसँग पर्याप्त साधन नभएको पौडेलले बताउनुभयो ।
“हामीले डिसिसिएमसीसँग अक्सिजन सिलिण्डर, एक्सरे मेसिन, ल्याब माग गरेका छौँ” पौडेलले भन्नुभयो, “अन्य तीन वटा स्थानीय तहमा पाँच÷पाँच गरी १५ शय्या चलाउने जनशक्तिले हामीले यहाँ ५० शय्या सञ्चालन गर्न सक्छौँ ।” अस्पतालमा आवश्यक पर्ने अक्सिजन सहयोगका लागि एनआरएनए दक्षिण अफ्रिकाबाट समेत कुरा आइरहेको पौडेलले बताउनुभयो । तत्कालका लागि देवचुली नगरपालिकाको आइसोलेसन रजहरमा बनाउने तयारी भइरहेको भए पनि अन्य स्थानीय तहले हात उठाएको अवस्थामा रजहरमा आइसोलेसन थप्ने डिसिसिएमसीको तयारी रहेको पौडेलको भनाइ छ ।
जिल्लाको आठ स्थानीय तहमध्ये जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाबाहेक अन्य स्थानीय तहले अक्सिजन सहितको आफ्नै आइसोलेसन निर्माण गरेका छन् । कावासोती नगरपालिकाले मध्यविन्दु जिल्ला अस्पताल आफ्नै नगरपालिकामा रहेको भन्दै बजेट नआउँदा आइसोलेसन निर्माण गर्न नसकेको नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । “नबनाई नहुने अवस्था आयो भने हामी पनि आइसोलेसन बनाउन जुट्नुपर्ला तर आइसोलेसन बनाउनका लागि हामीलाई बजेट दिइएको छैन”, पुनले भन्नुभयो, “हामीले जिल्ला अस्पताल वा रजहरमा बिरामी लैजाने गरी कुरा राखिरहेका छौँ ।”
मध्यविन्दु जिल्ला अस्पतालमा ५२ शय्याको कोभिड आइसोलेसन निर्माण भइरहेको भन्दै नगरप्रमुख पुनले नबनाई नहुने अवस्था आएमा मात्रै नगरपालिकाले आइसोलेसन बनाउने बताउनुभयो । कोभिड सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उहाँको भनाइ छ । “नगरपालिकाले सङ्क्रमित बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ”, नगरप्रमुख पुनले भन्नुभयो, “त्यतिले नपुग्ने अवस्था आउनसक्ला भनेर बिरामी बोक्न तीन वटा अटो रिक्सासमेत तयारी अवस्थामा छन् ।”
जिल्लाको मध्यविन्दु नगरपालिकाले भने कोभिड सङ्क्रमितको उपचारका लागि अक्सिजनसहित २४ शय्याको आइसोलेसन निर्माण गरेको जनाएको छ । नगरप्रमुख चन्द्रबहादुर रानाले मेडिकल अधिकृतको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी रहने गरी चोरमारा स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाइएको बताउनुभयो । नगरपालिकाले कोभिडका बिरामीलाई घरबाट आइसोलेसन र आइसोलेसनबाट अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने रानाले बताउनुभयो ।
नगरपालिकाको विभिन्न छ वटा वडामा रहेका स्वास्थ्य चौकी र अन्य १२ वटा वडाका आधारभूत स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको घरमै गएर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको रानाले बताउनुभयो । कोभिड सङ्क्रमित बिरामीको उद्धारका लागि नगरपालिकाले चौबिसै घण्टा सेवा प्रदान गर्ने रानाको भनाइ छ । नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् ।
भारतीय सीमासँग जोडिएको जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले दुम्किबासमा पाँच शय्याको आइसोलेसन निर्माण गरेको छ । “हामीसँग अहिले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा छ”, गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले भन्नुभयो, “यसलाई बढाएर १० शय्या बनाउने तयारीमा हामी जुटेका छौँ ।” गाउँपालिकासँग १८ वटा अक्सिजन सिलिण्डर रहेको भन्दै जिसीले आइसोलेसन विस्तारसँगै अक्सिजन सिलिण्डरसमेत थपिने बताउनुभयो ।
गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी रहेको भन्दै उहाँले सबै स्थानबाट आरडिटी र एन्टिजिन परीक्षण गर्नसक्ने व्यवस्था मिलाएको अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिकामा चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मी भएको भन्दै जिसीले कोरोनाको पिसीआर परीक्षणका लागि स्वाब मध्यविन्दु जिल्ला अस्पताल पठाइने बताउनुभयो । सङ्क्रमितलाई अस्पताल पु¥याउनका लागि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने जिसीको भनाइ छ ।
जिल्लाको देवचुली नगरपालिकाले कोभिड नियन्त्रणका लागि प्रयास गर्दागर्दै पनि उसको प्रयास फितलो देखिएको छ । नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेसन निर्माण गर्ने भने पनि दुम्कौली अस्पतालमा पाँच शय्या मात्रै सञ्चालनमा छ । नगरप्रमुख पूर्णकुमार श्रेष्ठले आफूहरुले रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा नगर आइसोलेसन बनाउने विषयमा छलफल गरिरहेको बताउनुभयो । “हामीले चिकित्सालयमा आइसोलेसन निर्माण गर्नेबारे डिसिसिएमसीमा समेत प्रस्ताव लिएर गएका छौँ” श्रेष्ठले भन्नुभयो, “त्यहाँ आइसोलेसन भयो भने सहज रुपमा सङ्क्रमितको उपचार गर्न सकिन्थ्यो ।”
नगरपालिकाभित्रका कोभिड सङ्क्रमित बिरामीलाई अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको भन्दै नगरप्रमुख श्रेष्ठले डायलासिस गर्नुपर्ने बिरामीका लागि समेत राहतस्वरुप प्रतिडायलासिस रु एक हजार प्रदान गरिने बताउनुभयो । केही दिन अगाडि मात्रै उपचारका लागि अस्पताल पु¥याउन सवारी साधन नपाउँदा देवचुलीका एक कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।
कोभिड नियन्त्रणका लागि गरिएको तयारीमा गैँडाकोट नगरपालिका अगाडि रहेको छ । दोस्रो लहरको कोरोना फैलिने बित्तिकै अक्सिजनसहित २० शय्याको आइसोलेसन निर्माण गरेको गैँडाकोट नगरपालिकाले सङ्क्रमित र गर्भवतीका लागि भनेर तीन वटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले कोभिड नियन्त्रणका लागि भन्दै आइतबारदेखि नियमित खोप सेवा समेत बन्द गरेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको बौदिकाली गाउँपालिकाले कोभिड उपचारका लागि भन्दै अक्सिजनसहित पाँच शय्याको आइसोलेसन तयार पारेको अध्यक्ष दुर्गाबहादुर रानाले बताउनुभयो । आइसोलेसन विस्तार गरेर १० शय्या पु¥याउनका लागि तयारी भइरहेको भन्दै रानाले जिल्ला गैँडाकोटबाट थप पाँचवटा अक्सिजन सिलिण्डर पुग्ने बित्तिकै आइसोलेसन थप्ने बताउनुभयो । गाउँपालिकासँग एम्बुलेन्स नभएको भन्दै रानाले सरकारी सवारीसाधनलाई बिरामी बोक्नका लागि प्रयोग गर्ने गरी तयारी भएको बताउनुभयो ।
त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाले १५ शय्याको आइसोलेसन तयार पारेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले हुप्सेकोट­१ मा निर्माण भएको आइसोलेसनको क्षमता विस्तार गर्दै २० शय्या पु¥याउने तयारी भइरहेको बताउनुभयो । गाउँपालिकाले सङ्क्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गर्नेगरी तयारी अवस्थामा राखेको अर्यालको भनाइ छ ।
बुलिङटार गाउँपालिकामा पाँच शय्याको आइसोलेन निर्माण भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले गाउँपालिका स्थायी ठेगाना भएका दुईजनामा कोरोना देखिएको भए पनि उनीहरू देवचुलीमा बस्दै आएका बताउनुभयो । गाउँपालिकासँग एम्बुलेन्स नभएका कारण कोरोना सङ्क्रमित बोक्नका लागि निजी गाडी भाडामा लिएर तयारी अवस्थामा राखिएको सापकोटाको भनाइ छ । (खोजी समाचार) (रासस)ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?