कोरोना सङ्क्रमण बढ्दै जाँदा बागलुङको जैमिनी डाक्टरबिहीन


गलकोट, २७ वैशाख
कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ ।

एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना सङ्क्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।

“अहिले १० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छौँ, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ”, आचार्यले भन्नुभयो, “अहिले कोरोना सङ्क्रमित होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजनसहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाई नै पुनःनियुक्ति दिनेगरी पहल थालेका छौँ ।”

तत्काल आइसोलेसन खाली भए पनि सामान्य सङ्क्रमित राख्दा जटिल आएमा समस्या हुने भएकाले अक्सिजन तथा उपचार आवश्यक सङ्क्रमितलाई मात्रै आइसोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाइ छ ।

नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको उहाँको भनाइ छ ।

सरकारको मापदण्डअनुसार कोरोना अस्पतालमा कम्तिमा एक डाक्टर, एक पारामेडिक्स्, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीसहित चार स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । (रासस)
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?