काठमाडौँ उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप


काठमाडौँ, ३१ असार काठमाडौँ उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो । आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रङ्गशाला, सङ्ग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमा समेत रोक लगाइएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट एवं फाष्टफुड तथा अन्य अडरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत् राखिएको छ । अत्यावश्यक काम विशेषले काठमाडौँ भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन । गोष्ठी सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यामबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । (रासस) :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?