समाज रूपान्तरणमा लाग्न स्रष्टालाई आग्रह


काठमाडौँ : साहित्य सन्ध्याको ४१८औँ मासिक शृङ्खलामा रचना वाचन, समाज रूपान्तरणमा स्रष्टाको भूमिका तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वबारे परिचर्चा गरिएको छ ।

भर्चुअलरूपमा गरिएको गोष्ठीमा प्रा डा प्रेमकुमार खत्री, नर्मदेश्वरी सत्याल, डा खेमनाथ दाहाल, लक्ष्मी माली, डा बालचन्द्र मिश्र, डा फणिन्द्रराज निरौला, निलहरि शर्मा सुवेदी, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, वैरागी जेठा, खेमराज निरौला, गङ्गा कर्माचार्य पौडेल, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, श्रीधर पौडेल, रेणुका पोखरेल, चिन्तामणि शिवाकोटी, रमेश गौतम पाल्पाली, देवकी सिग्देल, अनिल पौडेल, चुडा निर्भीक, ललिता दोषी, गोपाल बराल, गायत्रीकुमार चापागाईँ, दुर्गा नेपाली, सङ्गीता दाहाल, ओमप्रसाद कोइराला, सीताराम नेपाल, प्रशान्त खरेल, लक्ष्मी बस्याल, भक्ति घिमिरे, अनु विज्ञती, जयन्ती स्पन्दन, विन्दु ढकाल अधिकारी, रश्मि रिमाल र हरि तिमिल्सिनाले आप्mना कविता, गीत र हाइकु वाचन गर्नुभयो ।

कार्यक्रममा प्रा डा खत्रीले विचार र व्यवहारको तालमेल नमिलेको, सोचमा परिवर्तन नआएको, विकृति र अराजकता मौलाएका कारणले समाजमा अपेक्षित रूपान्तरण हुन नसकेको बताउँदै सिर्जनाका माध्यमबाट रूपान्तरण अभियान चलाउन आग्रह गर्नुभयो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै प्राज्ञ डा देवी नेपालले वर्गीय चेत, आमाको महिमा, मानवता, स्वाभिमान, गुरुवन्दना, भानुको सम्झना, गाउँको सम्झनाजस्ता विषयमा रचना वाचन भएको बताउनुभयो । उहाँले प्रगतिशील स्रष्टाका लागि निराशा र पलायन स्वीकार्य नहुने भएकाले समाज रूपान्तरणका लागि आशाको किरण छर्न आग्रह गर्नुभयो ।

आदिकवि भानुभक्तको व्यक्तित्व तथा कृतित्वमाथि सङ्क्षिप्त प्रकाश पार्दै विधान आचार्यले अध्यात्म रामायणबाट कथानक मात्र लिएर भानुभक्त आचार्यले रामायणको रचना गरेका हुँदा उनको रामायण मौलिक रचनाका रूपमा रहेको जनाउनुभयो ।

सन्ध्याका अध्यक्ष राम विनयले साहित्य समाजको ऐना भएकाले यही ऐनालाई सिर्जनाका माध्यमबाट उजागर गरेर सामाजिक रूपान्तरणमा स्रष्टाले कलम चलाइरहनुपर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?