सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको तस्वीर सार्वजनिक गरेर विरोध


म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ । दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुनुहुन्छ ।

समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुनुहुन्छ । यो सडक आयोजनाको आधिकारिक प्रतिनिधि दयाराम थापा हुनुुहुन्छ । फ्लेक्समा प्रिन्ट गरेर तस्वीर राखिएको छ । तस्वीर कसले राखेको हो भन्ने खुलाइएको छैन । दुईपटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको बेनी–दरवाङ सडक आयोजनाको बेनीबाट सिमसम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ । गत वैशाखमा निषेधाज्ञा शुरु भएपछि निर्माण व्यवसायीले काम रोकेका थिए ।

बर्सातसँगै पहिरो खसेर सडक हिलाम्मे भएको छ । आवतजावतमा समस्या भएको छ । नागरिकलाई सास्ती भएको छ । विसं २०७४ असोज ४ गते १२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएको लामा–समानान्तर जेभीसँग भएको ठेक्काको पछिल्लो म्याद २०७७ चैत २३ गते सकिएको थियो ।

अठार महिनामा सकिनुपर्ने सडकको करिब चार वर्षको अवधिमा फराकिलो बनाउने, नाली, पर्खाल निर्माण सकिएको ठाउँमा कालोपत्र गर्न सबबेस राख्ने काम भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनी–दरवाङ सडकको पहिलो प्याकेजको कोरोनाको छ महिना र सार्वजनिक खरिद ऐनको दशौँ संशोधनबाट थपिएको नौ महिनाको म्याद सकिएपछि थप गर्ने सबै आधार सकिएको छ ।

कार्यालयले हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको निर्माण व्यवसायीले जतिसक्दो छिटो काम गर्न नसके धरौटी जफत, जरिवाना र कालोसूचीमा राख्न कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिए पनि निर्माण व्यवसायीले दोस्रो लहरको कोरोना भाइरसको जोखिम र निषेधाज्ञाको कारण देखाएर निर्माणकार्यलाई झन् सुस्त बनाएका छन् । सोह्र वर्षअघि मार्ग खुलेको म्याग्दीको ‘लाइफ लाइन’ मानिएको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजमा पर्ने सिमबाट लाम्पाटा खण्डको तीन दशमलव छ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रस्ताव आह्वान गरिएको छ ।

विसं २०७८ जेठसम्म सक्ने गरी २०७६ साउनदेखि लाम्पाटाबाट दरवाङसम्मको आठ किलोमिटर सडक विस्तार र कालोपत्र गर्न ठेक्का लिएको बिरुवा–क्याराभान जेभीले ५० प्रतिशत मात्र काम गरेको कार्यालय प्रमुख नवराज पौडेलले बताउनुभयो । बेनी–दरवाङ सडक आयोजनामा भएको ढिलासुस्तीले म्याग्दीको मङ्गला, मालिका र धवलागिरिका बासिन्दालाई असुविधा मात्र होइन समग्र विकासमै असर पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?