किसानलाई दूध दुहुने र घाँस काट्ने मेसिन हस्तान्तरण


चितवन: भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।

करबाहेक रु एक लाख १० हजार लागतको दूध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र रु ३० हजार पर्ने घाँस काट्ने मेसिन (च्याफकटर) ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । च्याफकटर गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ११ वटा शतप्रतिशत अनुदान र चालु आवको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन तथा २१ वटा मिल्किङ मेसिन वितरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख मेखराज ढकालले बताउनुभयो ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी किसानलाई अगाडि बढाउने योजना रहेको बताउनुभयो । कृषिको विकासनै महानगर समृद्धिको मूल आधार भएकाले कृषिको विकासलाई नै बढी प्राथमिकता दिइएको दाहालले बताउनुभयो ।

महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्र्याक्टर, घाँस काट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्न महानगर लागिरहेको बताउनुभयो । कृषिको विकास गर्न नसके चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको विकासमा लागेको ठकुरीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?