दुई बालकृति लोकार्पित


काठमाडौँ: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गर्नुभएको छ । उहाँले बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा सङ्ग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गर्नुभएको हो ।

कुलपति कर्माचार्यले दुवै कृतिको शीर्षक नै रोचक रहेको जनाउँदै अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । ‘रसैरस रसिली’ बारे टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले कविताहरू बालसुलभ भएको उल्लेख गर्नुभयो । ‘स्वयम्भूका आँखाहरु’ माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए । पुस्तकमा मञ्जुश्रीको मिथकलाई आधुनिक प्रविधिसँग जोडिएर लेखिएको बताउनुभयो ।

‘रसैरस रसिली’लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने ‘स्वयम्भूका आँखाहरू’ विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?