अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै


काबुल: पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् ।

उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ ।

उनीहरुले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई अफगानिस्तानका तालिबाले निकै महत्वपूर्ण रहेको पनि भनेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धबिरामका लागि पनि केही अन्तरराष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबान बिद्रोहीले अस्वीकार गरेको छ ।

तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य सहर कब्जा जमाइरहेकोले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएका छन् । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।

तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन शहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो ।

कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।

यता अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग सङ्घर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?