पर्बतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता


कुश्मा । भाद्र १८  यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् ।पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।राससका अनुसार कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

हेलम्बु राजमार्ग लगातार अवरुद्ध

सिन्धुपाल्चोक– गए रातिदेखिको लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
पाँचकिलोमा पहिरो
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

पहिराले सडक अवरुद्ध

मेलम्ची–१० जिरो पोइन्ट नजिक पाँचपोखरी गाँउपालिका जाने मूल सडकमा गए राति झरेको पोहिराले अवरुद्ध बनाएको सडक । तस्बिरः देवराज सुवेदी÷रासस

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?