मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले


काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गर्नुभएको हो । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुनसकेन ।

नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिनुभयो । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गर्नुभएको थियो । गोलकिपर किरणकुमार चेम्जोङले उहाँको प्रहार रोक्न सक्नु भएन । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुभएका विराज महर्जनसित बराबरी गर्नुभएको छ । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसक्नु भएको छ । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेल्नुभएको छ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?