भारतको सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौं (असन बजार पत्रिका): नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना
तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा
१०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले सम्झौतापत्रमा हस्ताक्षर गरे। विकास
साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन
इकाई (भवन) का परियोजना निर्देशक श्री श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त
सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
२०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको नेरु ४२० करोड अनुदान सहयोगमा
पुनर्निर्माण गरिनेछ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ । उक्त
कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरु
तथा भारत सरकारको परियोजना परामर्शदाता INTACH र CBRI का प्रतिनिधिहरुले सहभागीता
जनाएका थिए ।
शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास
क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण
कार्यक्रम अन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । भारत सरकारको
अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा
परियोजनाको निर्माण भइरहेको छ । त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र
गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घरहरुको निर्माण भइरहेको छ।
यी सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्न भारत सरकार
प्रतिबद्ध रहेको भारतीय दूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?