अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्डसञ्चालनमा


राम केसी
चौतारा: अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चानमा आएको छ ।

अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिनुभयो ।

नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो ।
सीमापुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भास्सिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएका व्यवसायीले गुनासो गरेका छन् ।

उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिरालेक्षति पुगेको थियो । त्यहाँ केही दिनअधि मात्र यातायात सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दैस्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?